थापा परिवारले बनाए सरस्वतीको मन्दिर

बिर्तामोड,माघ १९ गते ।
झापाको शनिअर्जुन–६ वैशाबाडीस्थित नवज्योति आधारभूत विद्यालयमा निर्मित सरस्वतीको मन्दिरको आज बुधबार उद्घाटन भएको छ । 
स्थानीय चन्द्रमाया थापासहित थापा परिवारले निर्माण गरेको सरस्वतीको मन्दिरको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल र दाता परिवारको तर्फबाट चन्द्रमायाले संयुक्तरुपमा उद्घाटन गरे । 
सो अवसरमा मन्दिरमा रहेको शिलालेख समेत अनावरण गरिएको थियो । थापा परिवारले प्रदान गरेको पाँच कठ्ठा जग्गामा २०६५ सालमा उक्त विद्यालय स्थापना भएको हो । समारोहमा मन्दिर निमार्णदाता चन्द्रमाया, दाता परिवारको तर्फबाट तीलक–विष्णुकला थापा, राजेन्द्र–अर्चना थापा, कुमार –इन्दिरा थापा र विशाल–समृद्धि थापालाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । 
सोही कार्यक्रममा विद्यालयका पूर्व शिक्षक पुष्पा दाहाल र दुर्गा तिम्सिना तथा चन्दादाता धनबहादुर पन्धाकलाई समेत प्रशंसापत्र प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य ओमप्रकाश लुइटेलले जानकारी दिए । 
समारोहका अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार खतिवडाले विद्यालयको पृष्ठभूमिसहितको गतिविधिबारे जानकारी गराएका थिए । 
कार्यक्रममा प्रमुख अतिथि ढकाल, सहायक जिल्ला शिक्षा अधिकारी होमनाथ भण्डारी, दाता परिवारका तर्फबाट अर्चना थापा, नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष डम्बर थापाले मन्तव्य राखेका थिए ।
एक सय ४६ जना विद्यार्थी अध्ययरत् सो विद्यालयमा ५ शिक्षक, २ जना बालविकासका शिक्षक र १ जना कर्मचारी रहेको प्रधानाध्यापक रमेशराज भट्टराईले जानकारी दिए । डिल्ली सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन गोपाल चम्लागाईले गरेका थिए । कार्यक्रममा आयाम कला केन्द्रका कलाकारका साथै स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । शिक्षासेवी जयनारायण ढुंगानाले विद्यालयमा पानीट्यांकी निर्माणका लागि २५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको व्यवस्थापन समितिका सदस्य लुइँटेलले जानकारी दिए ।