दृष्टिविहीन विश्वकपः नेपालबाट दक्षिण अफ्रिका पराजित

काठमाडौँ, माघ २१ गते । 
भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ ।
नयाँ दिल्लीमा भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । यसअघि खेलेको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५९ रनले र दोस्रो अस्ट्रेलियासँग १० विकेटले पराजित भएको थिए ।
बिहिबारको खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले नेपालसामु १४७ रनको चुनौती प्रस्तुत गरेका थिए । जवाफी ब्याटिङमा उत्रेका नेपालले १७ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो ।
नेपालका लागि सुनिल सुवेदी क्षेत्रीले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै सुनिल रानामगरले ३८ तथा रमेशबहादुर बानियाँले २४ रन जोडे । यता दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रनको योगफल बनाएको थियो ।
दक्षिण अफ्रिकाका सनवाबीले बिड्लाले ५७, डोमिनिक स्कटले ३३ तथा बुह्ले भिड्लाले ३२ रन जोडे । बलिङतर्फ नेपालका सुनिल रानामगरले दुई तथा कृतन श्रेष्ठले १ विकेट लिए । नेपालले आज पाकिस्तानसँग खेल्नेछ ।